नक्कली सवारी पास लिएर यात्रु ओसारपसार गर्ने प्रहरी नियन्त्रणमा

0
120

काठमाडौं, २१ असार । महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलीले नक्कली सवारी पास लिएर यात्रु ओसारपसार गर्नेलाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जबाट काठमाडौं आएको ना ६ ख ८४४५ नम्बरको गाडीलाई चेकजाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पासलाई दुरुपयोग गरी यात्रु ओसारपसार गर्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार ३७ जना यात्रु संख्याको लागि जारी भएको कीर्ते पाससहित आएको सो गाडीमा २४ जना यात्रुहरू राजधानी प्रवेश गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

थानकोट प्रहरी प्रमुख श्रेष्ठका अनुसार यात्रुहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ जोनमा पठाइएको छ । थानकोट प्रहरीका अनुसार सवारी साधन तथा चालक जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय आशिष थापालाई नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा थापाले उल्लेखित सवारी पास सवारी धनी बाँके कोहलपुर नगरपालिका–६ रजेनाका ३८ वर्षीय पूर्ण प्रसाद गौतमबाट प्राप्त गरेका खुलेको छ ।

सवारी धनी पूर्ण प्रसाद गौतम तथा उल्लेखित पास बनाउन भूमिका निर्वाह गर्ने बाँके ने.ग.उप.म.न.पा.–४ का २१ वर्षीय बिशाल शाहीलाई पनि जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा नियन्त्रणमा लिएर थानकोट ल्याइएको छ ।

प्रहरी नियन्त्रणमा परेका ३ जना प्रतिवादीमाथि मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ ।

त्यस्तै महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले बर्दिया बढैया गा.पा. वडा नं. ५ का २९ वर्षीय सञ्जय विकले चलाएका बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ज ११३५ न. को गाडीलाई पनि नियन्त्रणमा लिएको छ ।

उनले पास बिनानै १७ जना यात्रुहरुसंग भाडा असुल गरी आफ्नो गाडीमा राखेर आएका र यात्रुहरुबाट असुल गरेको रु २५,०००/–(पच्चिस हजार) रकम समेत बरामद गरिएको छ ।

उनलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यसैक्रममा प्रहरी टोलीले काभ्रे धुलिखेल न.पा. १ का ३० वर्षीय संखमान तामाङलाई पनि बा २ ज ८६ नम्बरको ट्याक्सीसहित नियन्त्रणमा लिएको छ । उनले बिना सवारी पास डोटीबाट काठमाडौंसम्मको लागि ३ जना यात्रुहरुसँग रु ३०,०००/- लिने सर्तमा ल्याएका थिए ।

उनलाई पनि संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here