फर्सी: तरकारी मात्र होइन अमूल्य औषधि पनि !

0
138

संस्कृतमा कुष्माण्डा, पीतफला आदि नामबाट चिनिने यसलाई नेपालीमा फर्सी, हिन्दीमा कद्दु, काँशीफल, लालपेठा, कुम्हडा, फारसीमा बादरंग, मराठीमा ताँबला भोपला, गुजरातीमा पातकोलू, शाकरकोलू, अंग्रेजीमा पम्पकिन र ल्याटिनमा कुकुरबिता मास्किमा भनिन्छ ।

फर्सी विशेष गरेर वर्षा ऋतुमा पाईने लहरामा फल्ने फल हो । गोला, च्याप्टा, लामा विभिन्न किसिमका फर्सीहरु नेपालमा जहाँतहीँ पाइन्छन् । हरिया, साना कलिला फर्सीहरु तरकारीका रुपमा खाँदा त्यसको स्वादले को लोभिँदैन र ! फेरि पाकेको फर्सी हल्का उसिनेर त्यसै खाँदा पनि त्यसको प्राकृतिक गुलियोपन र सुमधुर सुगन्धले पनि आकर्षित नै  गर्दछ । पाकेको या काँचो दुवै फर्सीको रस पिउन पनि सकिन्छ । जे होस् फर्सी हाम्रो लोकप्रिय तरकारी हो । यसको विशेष परिचयको आवश्यकता छैन, हामीले देखे खाएकै  चिज हो ।

प्राचीन चिकित्सा पध्दतिमा फर्सी

आयुर्वेदिक मत अनुसार फर्सी मन्दाग्निकारक, वातलाई कुपित गर्नेवाला, भारी र कफनाशक गुणयुक्त छ । फर्सीको फल पौष्टिक, तिर्खा समाप्त गर्ने, पिसाब बढी लगाउने, भोक हराईहाल्ने साथै वात–पित्त बढेकालाई हानि गर्ने एवं कफवृध्दिमा लाभदायक छ । कुनै कुनै आचार्यहरुको मत अनुसार फर्सीले पेटमा स्निग्धता पैदा गर्नुका साथै कब्ज निवारण  गर्दछ । मल–मूत्र दुबै सफा गराई ज्वरनिवारकको काम पनि गर्दछ । फर्सीको बीज विषनाशक मानिन्छ साथै यो बीजबाट निकालेको तेल स्नायुमण्डलको पोषक एवं शक्तिवध्र्दक मानिन्छ । फर्सीको बीजलाई उत्तमकोटीको कृमिनाशक (पेटका जूका–कीरा) वस्तुको रुपमा व्यवहारमा गरिन्छ ।

युनानी मतमा फर्सीलाई पिसाब दिसा सफा गर्ने र बवारिस एवं प्रमेहमा लाभदायक मानिन्छ । आधा पाकेको फल कफलाई समाप्त गर्ने साथै पित्तनाशक छ । छालाका रोगीहरुको लागि पथ्य भोजनका रुपमा यसलाई लिन सकिन्छ । यसको बीज गर्मीको कारण निस्केका विभिन्न समस्याहरुमा लाभदायक छ । दिमागको लागि पोषक गुणयुक्त छ । छाती पोल्ने साथै मुखबाट रगत आउने समस्या छ भने त्यसमा लाभदायक छ ।

बीजको तेलले शरीरको मालिस गर्नाले स्फूर्ति पैदा हुन्छ । साथै छालामा चम्किलोपन आउँछ । टाउको मालिस गर्नाले रौंको सुक्खापन समाप्त हुनुका साथै गाढा निद्रा लाग्दछ । रिँगटा लाग्ने, गर्मीले बेहोस् हुने, टाउको दुख्ने, उदास हुने आदि स्थितिमा यस तेलले नियमित रुपमा टाउकोमा मालिस गर्नाले आश्चर्यजनक लाभ हुन्छ । खोकी र क्षयरोगमा यो तेल लाभदायक छ ।

  फर्सीमा कुन चिज कति पाईन्छ ?

जल    ९२.६ ग्राम
प्रोटिन   १.४ ग्राम
चिल्लो   ०.१ ग्राम
खनिज पदार्थ  ०.६ ग्राम
रेशा       ०.७ ग्राम
कार्बोहाइड्रेट   ४.६ ग्राम
क्याल्सियम   १० मिलिग्राम
फस्फोरस   ३० मिलिग्राम
फलाम (प्रति १०० ग्राममा)  ०.७ मिलिग्राम
भिटामिन ए (प्रति १०० ग्राममा)  ८३.३ मिलिग्राम
भिटामिन बी (प्रति १०० ग्राममा)  ०.०६ मिलिग्राम
भिटामिन सी (प्रति १०० ग्राममा)  २
क्यालोरी प्रति (प्रति १०० मा)   २५ 

फर्सी र यसको औषधीय प्रयोग

कब्ज:  फर्सीको तरकारी कब्जनिवारक गुणयुक्त छ तर यसलाई बोक्रा फ्याँकेर पकाउनु हुँदैन । बोक्रासँगै पकाउनु पर्दछ । फर्सीको तरकारीमा पुदिना, रायो, लसुन मिलाएर पकाउनाले स्वाद र गुण दुवै बढ्दछन् ।

पाकेको फर्सीको कडा बोक्रालाई सफासँग धोइ तासेर सुकाउनाले र सुकेपछि कुटेर चूर्ण बनाउने । यो चूर्ण दाल, तरकारी, पीठोमा मिलाएर खानु स्वास्थ्यवध्र्दक छ । १–१ चम्चा बिहान र साँझ तातो पानीसँग खानाले कब्ज निवारण गर्दछ साथै शरीरमा पोषक तत्व बढ्दछ ।

 अर्को महत्वपूर्ण जानकारी

फर्सी खाएर कसैलाई बेफाइदा भएमा पुदिना या लसुनको चिया जस्तो पकाई पिउन दिनुपर्दछ । फर्सीको कुनै पनि परिकारमा पुदिना, लसुन, रायो, त्रिकटु (पिपला, सूठो र मरिच), जैतुनको तेल आदि मिलाउनाले आकस्मिक रुपमा हुनसक्ने बेफाइदा पनि न्यून भएर जान्छ । (स्रोतः डा. हरिप्रसाद पोखरेल मानसाग्निको पुस्तक ‘आरोग्यको मूलबाटो’) 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here